२४ असार, काठमाडौं / भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी हाइड्रोपावरमा पनि क्षति पुगेको छ । हाइड्रोपावरको ड्याम र क्याम्पमा क्षति पुगेको हो । क्याम्प बगाएपछि कर्मचारीहरु भागेर जंगलमा गएर बसिरहेको रसुवागढी जलविद्युत् केन्द्रको प्रशासन प्रमुख टीकानाथ पौडेलले जानकारी दिए ।
‘हाइड्रोपावरमा ठूलो क्षति भएको अनुमान छ । हाम्रा गाडीहरु पनि बगेका छन्’ उनले भने, ‘साथीहरु अडिट टु भनिने जंगल क्षेत्रमा गएर बसिरहनुभएको छ ।’ आयोजनाका दुई महिला सहित २५–३० जना कर्मचारीहरु रहेको र उनीहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउने तयारी भइरहेको उनले बताए ।
हाइड्रोपावरको विद्युत् उत्पादन गृह भने सुरक्षित रहेको पौडेलले जानकारी दिए । निजी ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष गणेश कार्कीले जलजिद्युत् आयोजनाहरुमा भएको क्षतिबारे विवरण संकलन भइरहेको बताए ।