
फागुन ५, हुम्ला/हुम्लामा सेवा सुविधामा असन्तुष्टि जनाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर निर्वाचन प्रहरीहरूले नाराबाजी गरेका छन् ।प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले निर्वाचन प्रहरीहरूले सेवा सुविधाको कुरा उठाएर नाराबाजी गरिरहेको र त्यसबारे बुझ्ने काम भइरहेको बताए । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ ।
हिमाली क्षेत्रका म्यादी प्रहरीहरूले पहाडी र तराई क्षेत्रको तुलनामा केही रकम बढी पाउने गर्दछन् । फरक सुविधाका कारण हिमाली क्षेत्रको हकमा प्रति निर्वाचन प्रहरी खर्च ११ हजार ५७० रुपैयाँ हुन आउँछ भने पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ पाउँछन् ।तर हुम्लाका निर्वाचन प्रहरीहरुले पहिले भनिएको भन्दा कम तलब दिन लागिएको भन्ने सुनेपछि आन्दोलनमा उत्रिएका हुन् ।