
१ मंसिर काठमाडौँ / अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय ग्वार्कोमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार पार्टी एकताबारे नेपाली कम्युनिस्ट पार्टी लगायतसँग भइरहेको छलफल, निर्वाचन आयोगमा दल दर्ता लगायत विषयमा छलफल हुनेछ । ‘बैठकको एजेन्डा पार्टी एकता, निर्वाचन आयोगमा दल दर्ता लगायत समसामयिक विषय रहेका छन् । त्यसबारे छलफल गर्न र निर्णय लिन बैठक बोलाइएको हो’, उनले भने ।
जसपाले शनिबार नेकपासँग पार्टी एकताबारे छलफल गरेको थियो । यसैगरी जसपा नेपाल विभाजनपछि राईको अध्यक्षतामा जसपा गठन विरुद्ध उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा अहिले विचाराधीन अवस्थामा रहेको छ ।