२५ साउन काठमाडौं / समूह चरणको आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को हार बेहोर्दै नेपालले एएफसी यू–२० एसियन कप छनोट टुंग्याएको छ । आइतबार भुटानमा सम्पन्न खेलको पहिलो हाफमा नेपालले अधिकांश समय आफ्नो रक्षापंक्तिमै बितायो ।
आगामी वर्ष थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनाउने सम्भावना जीवित राख्न नेपालले अब भुटान र साउदी अरेबियाबीचको नतिजा कुर्नुपर्ने भएको छ । आजै हुने समूह ‘ए’को दोस्रो खेलमा भुटानले साउदीसँग खेल्दै छ ।
यस खेलमा साउदीले भुटानलाई हराउन सके वा बराबरीमा रोके नेपालले अर्को वर्ष हुने प्रतियोगितामा स्थान बनाउनेछ । नेपालले यसअघि दुई खेलमध्ये एकमा जित र अर्कोमा बराबरी गरेको थियो । छनोटको आफ्नो पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा भने साउदी अरेबियाविरुद्ध १–० को कठिन जित निकालेको थियो ।
समूहको दोस्रो स्थानमा रहेको नेपालले तीन खेल खेल्दा चार अंक जोडेको छ । यता, नेपालसँगको जितसँगै उत्तर कोरियाले अपराजित रहँदै थाइल्यान्डमा हुने प्रतियोगितामा स्थान बनाएको छ । शीर्ष स्थानमा आसिन उत्तर कोरियाले तीन खेल खेल्दा नौ अंक जोडेको छ ।
तालिकाको तेस्रो स्थानमा रहेको भुटानले दुई खेलबाट एक अंक जोडेको छ । पुछारमा रहेको साउदी दुई खेल खेल्दा पनि अंकविहीन छ । छनोटमा नेपाल समूह ‘ए’मा छ । यस समूहमा नेपालसँगै, भुटान, उत्तर कोरिया र साउदी अरेबिया छन् ।