
फागुन ४, सर्लाही /आइतबार राति अज्ञात व्यक्तिको गोलीबाट सब–इन्जिनियरको हत्या भएपछि त्यसको विरोधमा सोमबार सर्लाही जिल्ला अदालतका कर्मचारीले सेवा अवरुद्ध गरेका छन् । जिल्ला अदालतको मूलद्वारमा धर्ना दिँदै कर्मचारीहरूले सुरक्षाको ज्ञारेन्टी माग्दै सेवा अवरुद्ध गरेका हुन् ।
पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहा सुखीपुर नगरपालिका–६ वैशाखाका सब–इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको आइतबार राति हत्या भएको थियो । मलंगवा नगरपालिका–१० स्थित डेरामा बाहिर बोलाएर अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । उपचारका लागि अस्पताल पुर्याउँदा उनको मृत्यु भएको थियो ।सब–इन्जिनियर यादव आइतबार दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलंगवा फर्किएको सर्लाही प्रहरी प्रमुख उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले बताए ।
उनको देब्रे छातीमा गोली लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा हत्यामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ । हालसम्म गोली प्रहारको कारण खुल्न सकेको छैन । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।