
१ मंसिर, काठमाडौं / बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ । ढाकामा मृत्युदण्डको फैसला भइरहँदा हसिना भारतमा निर्वासनमा छिन् ।
फैसलामाथि टिप्पणी गर्दै हसिनाले पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण अदालतद्वारा जारी गरिएको बताएकी छन् ।
नयाँ दिल्लीमा इन्डिया टूडेसँगको अन्तर्वार्तामा ७८ वर्षीय हसिनाले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेकी छन् । फैसला पूर्व निर्धारित निष्कर्ष भएको दाबी गरेकी छन् ।
उनले आफ्नो अनुपस्थितिमा भएको फैसलाको आलोचना गर्दै भनिन्, ‘आईसीटी (अदालत) मा अन्तर्राष्ट्रिय केही छैन, न त यो कुनै पनि हिसाबले निष्पक्ष छ, अवामी लिग (उनको पार्टी) का सदस्यहरूलाई विशेष रूपमा मुद्दा चलाइएको छ, जबकी विपक्षी दलले गरेका कथित हिंसालाई बेवास्ता गरिएको छ ।’
ढाकाको अन्तर्राष्ट्रिय अदालतले हसिनालाई हिंसा भड्काएको, प्रदर्शनकारीहरूलाई मार्ने आदेश जारी गरेको र व्यापक अत्याचार रोक्न असफल भएको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेको छ ।
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय, मानवता विरुद्धका अपराधमा दोषी ठहर पूर्वगृहमन्त्री असदुज्जमान खानलाई पनि मृत्युदण्डको सजाए सुनाइएको छ । जबकी एक तत्कालीन प्रहरी प्रमुखलाई भने सरकारको साक्षी बनेका कारण पाँच वर्षको जेल सजाय सुनाइएको छ ।