
४ मंसिर, काठमाडौं / हामी नेपाल नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरूद्ध सामाजिक सञ्जालमा अभियान चलाएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजीनामा माग गर्दै गृहमन्त्री अर्यालविरूद्ध अभियान चलाएका हुन् । ‘मौनतालाई कमजोरी नठान्नू : जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्दै गुरूङले एउटा पोस्टर फेसबुकमा साझा गरेका छन् ।
पोस्टरमा गृहमन्त्री अर्यालविरूद्ध तीनवटा ह्यासट्यागहरू पनि उल्लेख छन् । त्यसअघि उनले फेसबुकमै गृहमन्त्री अर्यालको लाचारीपनले बारामा बुधबार जेनजी माथि कुटपिट भएको आरोप लगाएका थिए ।
‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट, सडकमा बगेको रगतबाट र जनेजी भाइबहिनीहरूको बलिदानबाट गृहमन्त्री बनेको कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो,’ उनले लेखेका थिए, ‘यदि गृहमन्त्रीले राजीनामा नदिने हो भने, भ्रष्टाचारीहरू र हत्याराहरुलाई समात्न सक्दैन भने, देशको परिवर्तनका लागि लड्ने योद्धाहरू माथि कुटपिट हुँदा कानमा तेल हालेर, हात बाँधेर बस्छ भने र उल्टै देशप्रेमी भाइबहिनीहरूलाई पक्राउ गर्छ भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान चलाउने चुनौती दिन्छु ।’