८ साउन काठमाडौैँ / कम्बोडियाको हमलाबाट थाइल्याण्डमा १२ जनाको मृत्यु भएको छ । बिहीबार बिहान सीमावर्ती क्षेत्रबाट सुरू भएको दुई देशबीचको तनाव अपराह्नसम्म तीव्र भएर एक अर्कामाथि हवाई हमला गरेका थिए ।
कम्बोडियाले थाइल्याण्डमा गरेको हमलाबाट १२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । मृत्यु हुनेमा एक जना सैन्य अधिकारी पनि छन् । बाँकी मृतकहरू बालबालिका, किशोर किशोरी लगायतका नागरिक रहेका छन् ।
बिबिसीका अनुसार थाइल्याण्डको सुरिन प्रान्तमा २ जना नागरिक, उबोन रेचथानी प्रान्तमा एकजना र श्रीसाकेत प्रान्तमा ८ जनाको मृत्यु भएका छ । थप ३५ जना घाइते भएका छन् ।
कम्बोडियाले रकेट प्रहार गरेपछि थाइल्याण्डले एफ–१६ लडाकू विमान प्रयोग गरी कम्बोडियाली सैन्य अड्डामा हमला गरेको थियो । दिउँसोसमम उसले आक्रमण तीव्र बनाएको छ । यद्यपि कम्बोडियाले कति हताहती र भौतिक क्षति भयो भन्ने सार्वजनिक गरेको छैन । कम्बोडियाको हवाई हमलाबाट थाइल्याण्डको पेट्रोल पम्पमा क्षति पुगेको तस्बिर र समाचार सार्वजनिक भएका छन् ।
सैन्य शक्तिको हिसाबले कम्बोडियाभन्दा थाइल्याण्ड तीन गुणा बढी शक्तिशाली रहेको भनेर पश्चिमा मिडियाहरूले लेखेका छन् । यद्यपि कम्बोडियाको विदेश मन्त्रालयले आक्रमणको जबाफ दिनुको विकल्प नरहेको भनेको छ ।
दुवै देशले बिहीबार बिहान एक अर्कालाई पहिले आक्रमण सुरू गरेको दोष लगाएको छ । रकेट प्रहार गरेर कम्बोडियाले निहुँ खोजेको थाइल्याण्डको आरोप छ भने सीमानामा पूर्वसहमति तोडेर थाइ सेनाहरू मन्दिर क्षेत्रमा अगाडि बढेको र त्यहाँ तारबार गर्न खोजेकले तनाव सुरू भएको कम्बोडियाको दाबी छ ।