२५ साउन मन्थली / रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३च ३९३५ नम्बरको पिकअप स्कोरपियो गाडी मन्थली नगरपालिका–६, बोक्से पहरो भन्ने ठाउँमा दुर्घटना हुँदा ४० वर्षीया राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको छ । उनी मन्थली नगरपालिकाकी स्वास्थ्यकर्मी रहेको जनाइएको छ ।
स्कोरपियोका चालक एवं उनका पति ४५ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई थप उपचारका निम्ति काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कौशल न्यौपानेले बताए । मन्थली सामुदायिक अस्पतालमा उनको प्रारम्भिक उपचार गरिएको थियो ।
इन्स्पेक्टर न्यौपानेका अनुसार, गाडी सडकबाट करिब १०० मिटर तल खसेर तामाकोसी नदी किनारमा पुगेको थियो । मन्थली–७ स्थित सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्ज समेत रहेकी राधा र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत उत्तम हेटौँडामा अध्ययनरत छोरालाई भेट्न आइतबार बिहान त्यसतर्फ जाँदै गरेका बताइएको छ ।