
झापा । झापाको बिर्तामोडस्थित व्यस्त बजार क्षेत्रमा भीषण आगलागी भएको छ। केही बेरअघि सुरु भएको आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालित भएका छन्।
आगलागीको जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ।
आगो थप फैलिन नदिन र नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलको टोलीले प्रयास गरिरहेको छ।
घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ। उद्धार तथा आगो नियन्त्रणमा खटिएका सुरक्षाकर्मी र दमकललाई सहज रूपमा काम गर्ने वातावरण बनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
आगलागीको कारण खुल्न सकेको छैन। घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ।