
डोल्पा । जिल्ला कारागार डोल्पाबाट फरार भएका थप दुई जना कैदी पक्राउ परेका छन्। त्रिपुरासुन्दरी नगरपालिका–४ रङस्थित कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जबर्जस्ती करणी कसुरमा ८ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकाय र नकबजनी चोरी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन्।
उनीहरू गत कात्तिक १४ गते जिल्ला कारागार डोल्पाबाट फरार भएका थिए।
प्रहरी नायव उपरीक्षक अनिल राज गिरीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
यससँगै कारागारबाट फरार भएका कैदीमध्ये हालसम्म चार जना पक्राउ परेका छन्। बाँकी चार जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।