
१७ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका छन् । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार नेपाल भ्रमणमा आउनुअघि नै दलेला काठमाडौं आइपुगेका हुन् । मिस्रीको भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको तयारी तथा द्विपक्षीय सम्बन्धका विषयमा छलफल हुने कार्यक्रम छ ।
दलेला यसअघि भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए । सन् २०२५ देखि उक्त जिम्मेवारीमा रहेका उनले भुटानका लागि भारतीय राजदूतका रूपमा पनि तीन वर्ष काम गरेका थिए । भारतले नेपालमा विदेश मन्त्रालयको सचिवस्तरका करिअर कूटनीतिज्ञलाई राजदूत नियुक्त गरेको यो सम्भवतः पहिलोपटक हो ।
दलेला भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका मुलुकसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदीयमान रणनीतिक प्रविधिसम्बन्धी विषयमा काम गर्दै आएका कूटनीतिज्ञ हुन् ।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाको कूटनीतिक करिअर इजरायलको तेल अभिभबाट सुरु भएको थियो । उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय कूटनीतिक नियोगमा सेवा गरेका छन् ।
सन् २००९ देखि २०११ सम्म उनले भारतको प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए । त्यतिबेला उनको जिम्मेवारी दक्षिण एसियाली छिमेकी राष्ट्र, पूर्वी एसिया तथा इन्डो–प्यासिफिक क्षेत्र, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँगको भारतको सम्बन्धमा केन्द्रित थियो ।
उनले सन् २००६ देखि २००७ सम्म भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजनमा काम गरेका थिए । त्यसपछि सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनको सहसचिवका रूपमा कार्यरत रहे । उक्त अवधिमा उनले नेपाल र भुटानसँग भारतको सम्बन्धसम्बन्धी विषयमा नजिकबाट काम गरेका थिए ।
व्यापार तथा आर्थिक नीतिमा समेत अनुभव भएका दलेलाले नयाँदिल्लीस्थित वाणिज्य विभागमा व्यापार नीति निर्देशकका रूपमा काम गरेका छन् । उनले विश्व व्यापार संगठनमा भारतको स्थायी नियोगमा दुईपटक सेवा गरेका थिए ।
त्यसैगरी, उनले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा पनि काम गरेका छन् । वासिङ्टन डीसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलासम्बन्धी मन्त्री र सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।