
१७ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा पेस गरेको छ ।
मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरूसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो ।
अख्तियारले प्रतिवादीहरूबाट करिब ७३ करोड ५० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
उक्त मुद्दामा पूर्वभूमिसुधारमन्त्री डम्बर श्रेष्ठको नामसमेत समावेश छ । त्यस्तै, सवारी दुर्घटनामा त्रिशूली नदीमा बेपत्ता भएका पूर्वमुख्यसचिव माधव घिमिरेकी छोरी कमला घिमिरेविरुद्ध पनि मुद्दा पेस गरिएको छ ।
यसैगरी पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी तथा तत्कालीन उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौलाविरुद्ध पनि आरोपपत्र दायर गरिएको छ ।
भूमि व्यवस्था विभागका महानिर्देशक राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीलाई पनि प्रतिवादी बनाइएको छ ।
सार्वजनिक जग्गा छुट दर्ता प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धानपछि ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको हो ।