
१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एयर डाइनेस्टीको नाइन एन–एओडी हेलिकोप्टर लुक्लाबाट उडेको थियो भने फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकोप्टर गोरक्षेपबाट फेरिचे पुगेको थियो ।
नेपाली समयअनुसार बिहान ८ बजेर ११ मिनेटमा दुवै हेलिकोप्टर एकआपसमा ठोक्किएका थिए । दुवै हेलिकोप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा परी भारतको तमिलनाडु राज्यस्थित चेन्नईका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको छ ।
दुर्घटनामा दुवै हेलिकोप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति, डाइनेस्टी एयरका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल रहेका छन् ।
घाइतेमध्ये पटेल र प्रजापतिलाई प्रभु एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि ललितपुरस्थित मेडिसिटी अस्पताल ल्याइएको छ ।
त्यस्तै, डाइनेस्टी एयरका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।