
९ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा सर्वोच्च अदालतमा बहस भइरहेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा कार्कीका कानुन व्यवसायीहरूले सुरुमा बहस गरेका थिए । त्यसपछि सरकारको निर्णयको प्रतिरक्षामा महान्यायाधिवक्ता डा. नारायण कँडेलले बहस गरेका छन् ।
कार्कीका कानुन व्यवसायीहरूले उनलाई गैरकानुनी रूपमा जिम्मेवारीबाट हटाइएको र भूमिकाविहीन बनाइएको दाबी गर्दै सरकारको निर्णय बदर गर्न माग गरेका छन् । विगतका नजीरले समेत सरकारले विनाकारण प्रहरी महानिरीक्षकलाई हटाउन नमिल्ने देखाउने भन्दै उनीहरूले निर्णय सच्याउनुपर्ने जिकिर गरेका हुन् ।
सरकारी पक्षले भने निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाइएको नभई अझ महत्त्वपूर्ण जिम्मेवारी दिइएको तर्क गरेको छ ।
महान्यायाधिवक्ता डा. कँडेलसहित सरकारी वकिलहरूले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको भन्दै उनको बढुवा भएको दाबी गरेका छन् । त्यसैले आफ्नो बढुवाविरुद्ध कार्की सर्वोच्च अदालत जान नहुने उनीहरूको तर्क छ ।
निवर्तमान आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । दुवै पक्षको बहस सकिएपछि सर्वोच्चले बुधबार नै अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय दिन सक्नेछ ।