
१० असोज, काठमाडौं । सहयोगी महिला जागरण मञ्चको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभामा संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका सामाजिक तथा जनहितकारी गतिविधि, आय–व्यय विवरण तथा आगामी कार्ययोजनाबारे जानकारी गराइएको छ।

सहयोगी महिला जागरण मञ्चले समाजमा रहेका विकृति हटाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरसफाइ, जनचेतनामूलक कार्यक्रम, रक्तदान, स्वास्थ्य शिविर तथा सीपमूलक तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रतिवेदनअनुसार संस्थाले चालु आर्थिक वर्षमा विभिन्न मितिमा पाँच पटक रक्तदान कार्यक्रम आयोजना गरी ११९ पिन्ट रगत संकलन गरेको छ। संकलित रगत आवश्यक बिरामीलाई व्यवस्थापन गर्न विभिन्न निकाय तथा रक्तसञ्चार सेवासँग सहकार्य गरिएको संस्थाले जनाएको छ।
त्यस्तै, काठमाडौं महानगरपालिका–३० को कार्यालयको ६० प्रतिशत र सहयोगी महिला जागरण मञ्चको ४० प्रतिशत सहयोगमा डिल्लीबजारमा १५ जना विपन्न तथा घरेलु महिलाको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले सातदिने निःशुल्क मकैको खोस्टाबाट फूल बनाउने तालिम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ।

संस्थाले स्थापना कालदेखि नै विभिन्न स्थानमा सचेतना कार्यक्रम, विपन्न तथा पीडितलाई राहत वितरण, स्वास्थ्य शिविर, सीपमूलक तालिम तथा नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
सभामा संस्थाको आर्थिक अवस्थाबारे पनि जानकारी गराइएको थियो। संस्थाको नियमित आम्दानीका रूपमा सदस्यहरूबाट संकलन हुने मासिक सहयोग, विभिन्न संघ–संस्था तथा सामाजिक व्यक्तिहरूबाट प्राप्त सहयोग र विश्व सरला अक्षयकोषबाट प्राप्त ब्याज रकम रहेको प्रतिवेदनमा उल्लेख छ।
आर्थिक चुनौतीका बाबजुद संस्थाका पदाधिकारी तथा सदस्यहरूले स्वयंसेवकका रूपमा सामाजिक गतिविधिमा योगदान गर्दै आएको जनाइएको छ। आगामी दिनमा दातृ निकाय, सहयोगी संस्था तथा नेपाल सरकारबाट समेत सहयोग प्राप्त गरी सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने योजना संस्थाले अघि सारेको छ।

सभामा संस्थाको लेखा परीक्षण तथा आय–व्यय विवरणसम्बन्धी विषयमा समेत छलफल गरिएको थियो। संस्थाले आगामी दिनमा विभिन्न संघ–संस्थासँग समन्वय र सहकार्य गर्दै सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।
सहयोगी महिला जागरण मञ्च जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २०६५ सालमा दर्ता भएको गैरनाफामूलक तथा जनहितकारी संस्था हो।