
मंसिर २१, काठमाडौं / मंसिर २१ धदिङ्को धुनिवेशी नगरपालिका–६ को चालिसेमा शनिबनार भएको सवारी दुर्घटनामा ७० जना परेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय धादिङले शनिबार राति घाइतेहरूको विवरण संकलन गर्दा उक्त दुर्घटनामा विभिन्न सवारी साधनका गरी ७० जना यात्रु परेका इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिएका छन्।
काठमाडौंबाट जाँदै गरेको एनएल ०१ एबी ४६५४ नम्बरको भारतीय डिब्बा गाडीको ब्रेक फेल भएपछि त्यसले अरू गाडीहरूलाई ठक्कर दिएको थियो। डिब्बा गाडीसँगै गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेको बा १ प ९१७ नम्बरको यात्रुबाहक बस, विपरीत दिशाबाट गजुरीतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, भारतको जिजे ०३ एजेड ३२३१ नम्बरको भारतीय यात्रुबाहक बस, बा.प्र.०६–००१ ग ००११ नम्बरको श्री सेकेन्डरी स्कुल रेडक्रस ग्राम चितवनको स्कुल बस, ना ४ ख ७१५ नम्बरको ट्रक र लु ९५ प ३०७ नम्बरको मोटरसाइकल गरी सातवटा सवारी साधन एकै ठाउँमा ठोक्किएका थिए।
मोटरसाइकल चालक धादिङ थाक्रेका सेख अलि गम्भीर घाइतको रुपमा टिचिङ अस्पताल लगिएको थियो भने साँझ ६ः१५ बजे मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। साथै पहिचान नखुलेका एक पुरुषको पनि सोही समयमा मृत्यु भएको पुष्टि भएको छ। दुवै शव टिचिङ अस्पतालमै राखिएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ट्राफिक टोलीसहित सुरक्षा टोली खटिएको थियो।