२७ चैत, कठमाडौँ / चितवन नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सडक मर्मत तथा विस्तारका लागि आजदेखि अत्यावश्यक बाहेकका सवारी साधनको आउ–जाउ बन्द गरिँदै छ ।
सडक आयोजनाले आज चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म चार घण्टा सडक बन्द गर्न लागेको हो । त्यसपछि पनि २०८२ वैशाख १ गतेदेखि वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म ६ घण्टा सडक बन्द गरिने छ ।
यी मिति र समय अवधिमा एम्बुलेन्स, दमकल, प्रहरी लगायतका अत्यावश्यक सेवाका सवारी साधनलाई भने रोक लगाइने छैन । बर्खायाम सुरु हुनुभन्दा अगाडि नै राजमार्गमा सहज यात्राका लागि दाउन्ने खण्डमा सडक बन्द गरेर सडक विस्तारको काम गर्न लागिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।
अत्यन्तै संवेदनशील र जोखिम क्षेत्र मानिने दाउन्नेमा पहाडको भित्ता काट्ने, पर्खाल लगाउने तथा कल्भर्टका कामहरू भैरहेका छन् । साँघुरो सडक र कामसमेत भैरहेकाले अहिले दैनिकजसो यात्रुहरूले दुःख पाइरहेका छन् । दाउन्ने खण्डको १३ किलोमिटर पार गर्न अहिले सवारी जामले ५ देखि ६ घण्टा लाग्ने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले सडक विस्तारको काममा पनि डिस्टर्व हुने र यात्रुले पनि दुःख पाउने अवस्था देखिएकाले बरु सडक नै बन्द गरेर काम गर्ने प्रस्ताव आयोजनाले गरेपछि पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरुसहित बैठक बसेर दाउन्ने खण्डमा राजमार्ग बन्द गराएर बर्खा अगाडि सहज बनाउने निर्णय गरिएको बताए ।