
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले घर बगाएपछि परिवारले मृत ठानेकी एक महिलालाई बाढी आएको ११ औँ दिनमा जीवितै उद्धार गरिएको छ।
नुवाकोटको विदुर नगरपालिका–१० निवासी ६४ वर्षीया चण्डिका श्रेष्ठ बाढीपछि बेपत्ता भएकी थिइन्। बाढी आएको आठ दिनसम्म उनको कुनै अत्तोपत्तो नलागेपछि परिवारले उनको मृत्यु भएको निष्कर्ष निकाल्दै कुशको शव बनाएर काजकिरिया समेत सुरु गरिसकेको थियो।
तर, मृत्यु संस्कार चलिरहेकै अवस्थामा उद्धारकर्ताले श्रेष्ठलाई जीवितै फेला पारेका हुन्। सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विक को कमान्डमा खटिएको टोलीले नुवाकोटको बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट उनलाई अर्धअचेत अवस्थामा उद्धार गरेको जनाएको छ।
उद्धारपछि हेलिकप्टरमार्फत उनलाई त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा ल्याई प्रारम्भिक उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ।
बाढीको विपद्मा हराएकी चण्डिका श्रेष्ठ जीवितै भेटिएपछि उनका परिवारजन र स्थानीयवासी आश्चर्यचकित तथा भावुक बनेका छन्। उद्धार टोलीले उनको स्वास्थ्य अवस्थाबारे थप निगरानी भइरहेको जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अझै केही व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।