१८ असार काठमाडौँ / नेपाली कांग्रेसका नेता आफताब आलमसहित चार जनालाई सफाइ दिने फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन दिने भएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले गरेको फैसलाविरूद्ध सर्वोच्च अदालतमा जाने तयारी रहेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सूर्यराज दाहालले जानकारी दिए ।
उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जले पुनरावेदनको लागि मिसिल तयार गरिरहेको छ । उक्त मिसिल प्राप्त भएसँगै सर्वोच्चमा दर्ता गराइने प्रवक्ता दाहालले बताए । ‘पुनरावेदनमा जाने भन्ने टुंगो लागिसकेको छ । उताबाट मिसिल आएपछि दर्ता गर्छौं,’ उनले भने ।
उनले यो साता वा नभए अर्को सातासम्ममा पुनरावेदन गर्ने बताए । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनले जेठ १४ गते आलमसहित चार जनालाई सफाइ दिने फैसला गरेको थियो । यो फैसलापछि दुवै जना न्यायाधीशको आलोचना भइरहेको छ ।
फैसलाको पूर्वपाठ आएपछि उच्च सरकारी वकिलको कार्यालयले यसमा पुनरावेदनका लागि प्रक्रिया अघि बढाएको हो । आफताब आलममाथि २०६४ चैत २७ गते संविधानसभा चुनावमा धाँधली गर्न घरमा बम राखेको आरोप थियो । उक्त बम बिस्फोट हुँदा ’पिन्टु’ भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तर घाइते भएका थिए । उनीहरूलाई इँट्टाभट्टामा लगेर जलाइएको अभियोग थियो ।