२०८२ श्रावण ३, शुक्रबार

मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्यो

नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ ।
मध्यरातसम्म बसेको एमाले सचिवालय बैठकले यस्ता निर्णय गर्यो

२ साउन काठमाडौं / नेकपा एमालेमा पदाधिकारीको संख्या १९ बाट १५ जनामा घटाउने भएको छ । यसैगरी चर्चामा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था पनि हटाइएको छ ।

गएराती सम्पन्न पार्टी केन्द्रीय सचिवालयको बैठकले सचिवालयको अवधारणा पनि हटाएको छ । जस अनुसार अब एमाले स्थायी कमिटी,पालिटव्यूरो र केन्द्रीय कमिटी मात्र रहनेछन् । पार्टी उपाध्यक्ष गुरु बरालले दिएको जानकारी अनुसार लामो छलफलपछि नेताहरु उल्लेखित विषयमा सहमतिमा पुगेका हुन् । आगामी राष्ट्रिय महाधिवेशन देखि केन्द्रीय निकायका रुपमा तीनवटा कमिटी मात्र सक्रिय हुने गरी विधान महाधिवेशनमा प्रस्ताव गरिने निर्णय भएको बरालले बताउनुभयो । १५ वटा पदाधिकारीका पदमा अध्यक्ष र महासचिव बाहेक अरु पदलाई के कसरी विभाजन गर्ने भन्ने बारेमा निर्णय गरिएको छैन । तर पार्टीका एक पदाधिकारीका अनुसार अध्यक्ष,महासचिव र उपमहासचिव एक एक,उपाध्यक्ष पाँच र सचिव सात जना रहने अनौपचारिक सहमती भएको छ ।

बरालले जनाए अनुसार केन्द्रीय कमिटीको आकार घटाउने विषयमा पनि नेताहरु बीच लामो छलफल भएको थियो । पार्टी उपाध्यक्ष एवं विधान संसोधन समितीका संयोजक विष्णुप्रसाद पौडेलले पौडेलले ११ जना पदाधिकारीको प्रस्ताव गरेको भए पनि नेताहरुले त्यसलाई बढाएर १५ पुर्याउनु पर्ने राय दिएपछि सोही अनुसार निर्णय भएको हो । पौडेलले १९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गर्नु भएको थियो । तर नेताहरुले त्यसलाई बढाएर २५१ सदस्यीय बनाउन आग्रह गरेपछि सोही अनुसार निर्णय भएको हो । केन्द्रीय कमिटीका एकतिहाई सदस्य पोलिटव्यूरोमा रहनेछन् । जस अनुसार अब एमालेको पोलिटव्यूरो अब ८३ सदस्यीय हुनेछ । हाल एमाले पोलिटव्यूरो ९९ सदस्यीय थियो ।
उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीका अनुसार १५ सदस्यीय पदाधिकारीलाई नै स्थायी कमिटी मान्ने निर्णय सर्वसम्मत भएको छ । उहाँका अनुसार विधान संसोधनका प्रावधानमा बैठकको सुरुमा नेताहरुले विभिन्न मत राखे पनि सबै निर्णयहरु सर्वसम्मत भएका हुन् । ज्ञवालीका अनुसार पार्टी केन्द्रीय सदस्यहरुलाई महाधिवशेनमा उम्मेद्वार हुने गरी सहभागी हुन आफ्नै भूगोलबाट चुनिएर आउने कि स्वत आयोजकको हैसियतमा सहभागी गराउने विषयमा लामो छलफल भएको थियो । छलफलले केन्द्रीय सदस्यहरु स्वत राष्ट्रिय महाधिवेशनका प्रतिनिधी हुन पाउने गरी निर्णय गरेको छ । विधान महाधिवेशनको हकमा यस अघिका प्रतिनिधी मात्र सहभागी हुन पाउने विधानको व्यवस्थालाई यथावत राखिएको छ । नयाँ थपिएका केन्द्रिय सदस्यहरु आयोजकको हैसियतमा मात्र विधान महाधिवेशनमा सहभागी हुनेछन् ।

हिजो सचिवालयले गरेको निर्णय आज दिउसो १ बजे बस्ने पोलिटव्यूरो बैठकबाट अनुमोदन गरिने नेताहरुले जनाएका छन् । ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयहरु प्रस्ताव गरिने भएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस