२ असोज, काठमाडौं / क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् । उनले पार्टी महासचिवको पद छोडेका हुन् ।
८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका हुन् । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने निर्णय गरेको छ ।
‘किरण जी लामो समयदेखि महासचिव हुनुहुन्थ्यो, उहाँको स्वास्थ्यले साथ दिएन । त्यसैले केन्द्रीय समितिले महासचिवको जिम्मेवारी मलाई दिएको छ । उहाँ सल्लाहकार र विशेष कमिटीमा हुनुहुन्छ,’ गजुरेलले भने ।
पुष्पकमल दाहाल नेतृत्वको माओवादीसँग विद्रोह गरी २०६९ सालमा मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी ‘नेकपा– माओवादी’ बनेको थियो ।