
  
   
 
१८ कार्तिक काठमाडौं / दोलखामा हिमपहिरोमा परी घाइते भएका चारजनालाई उपचारका निम्ति मंगलबार बिहान काठमाडौं ल्याइएको छ । हेलिकोप्टरमार्फत उद्धार गरी उनीहरूलाई काठमाडौं पठाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद रिसालले जानकारी दिए ।
घाइते भएका दुई विदेशी र दुई नेपालीलाई काठमाडौं ल्याइएको हो । दुई विदेशीलाई उपचारका निम्ति सोह्रखुट्टेस्थित इरा इन्टरनेसनल अस्पतालमा पठाइएको उनले बताए । घाइते दुई नेपालीलाई भने मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा लगिएको उनले जानकारी दिए ।
“निजी कम्पनीको एभरेस्ट हेलिकोप्टर (हेली एभरेस्ट)बाट उद्धार गरेर उपचारका लागि चारजनालाई काठमाडौं लगिएको छ,” हिमपहिरोमा परेका बाँकी व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताए । हिमपहिरोमा सातजनाको मृत्यु भएको भनिए पनि सबैजनाको शव संकलन नभएको उनले जानकारी दिए ।