
१९ कात्तिक, काठमाडौं / नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अशोक राईलाई एकता प्रक्रियामा आउन प्रस्ताव गरेका छन् । सो प्रस्तावपछि राईले केन्द्रीय समिति बैठक बोलाएका छन् ।
अध्यक्ष राईले एकताको प्रस्ताव आएको पुष्टि गर्दै पार्टीको एकीकृत धारणा बनाउन केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार बैठक आज बिहान साढे ११ बजे काठमाडौंस्थित पार्टीमा कार्यालयमा बस्ने छ ।
बैठकमा पार्टी एकता र मोर्चाबन्दीका लागि आएका प्रस्तावसहित आगामी निर्वाचन र भदौको जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे छलफल हुने अध्यक्ष राईले बताए ।
उनले प्रचण्ड र माधव नेपालसहित राष्ट्रिय मुक्ति पार्टीबाट पनि त्यस्तै खालको प्रस्ताव आएको बताए । नयाँ र पुराना दलसँग एकता वा सहकार्य गर्ने कि नगर्ने भन्ने विषयमा बैठक नबसी केही भन्न नसक्ने जवाफ आफूले दिएको उनले बताए ।