
२७ कात्तिक, काठमाडौं / राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ । निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो । यसका लागि बुधबार रातभरि प्राविधिक तयारी र परीक्षणका काम भएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
यसले राष्ट्रिय परिचयपत्र नम्बर भएका र आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज बनाउनेछ । यही ३० कात्तिकसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ मतदाताको संख्या पनि बृद्धि हुँदै आएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदाता सूचीमा नाम लेखाउन मिल्ने भएपछि अब बाँकी दिनमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यले थप रफ्तार पाउने आयोगका अधिकारीहरू बताउँछन् ।