
माघ १८, काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलालाई ‘ब्रेन ह्यामरेज’ भएको पाइएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा उनको उपचार भइरहेको छ ।
चुनावी प्रचारका क्रममा सिटौला अछाम–२ बाट उमेदवार बनेका रास्वपाका भूपदेव शाहको घरमा बालेनसँगै पुगेका थिए । अस्पतालका अनुसार एक्कासि बेहोस भएका उनी लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । हाल उनको चेतनास्तर अत्यन्त न्यून भएकोले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका निम्ति काठमाडौं ल्याइएको थियो ।