
१२ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाज आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ११५ रनमै समेटिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमा अलआउट भएको हो ।
काठमान्डुलाई सस्तैमा समेट्ने क्रममा जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिए । राहुलले काठमान्डुका दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी र मोहम्मद आदिल आलमको विकेट लिए ।
त्यस्तै, सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले एक–एक विकेट लिए ।
ब्याटिङतर्फ काठमान्डुका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे । तर, टोलीले ठूलो साझेदारी बनाउन नसक्दा सामान्य योगफलमै सीमित हुन पुग्यो ।
काठमान्डुले ६ रन जोड्दा ओपनर साम हिजलेटलाई गुमाएको थियो । साम १ रनमा आउट भए । त्यसपछि १९ रनको अवस्थामा हरिशंकर शाह ९ रन बनाएर पभेलियन फर्किए ।
त्यसपछि पनि काठमान्डुले लगातार विकेट गुमायो । रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए । कप्तान करण केसी ८ र जहानदाद खान ५ रनमा आउट भए ।
मोहम्मद आदिल आलम पहिलो बलमै एलबीडब्ल्यूको सिकार बने । रिपोन मोन्डल ९ रनमा आउट हुँदा शाहब आलम ४ रनमा अविजित रहे ।
काठमान्डुले टोलीमा अनुबन्ध गरेका अस्ट्रेलियाली स्टार खेलाडी डेविड वार्नर भने पहिलो खेलमा अनुपस्थित छन् । उनी आइतबार मात्रै नेपाल आइपुग्ने बताइएको छ ।
यस खेलमा काठमान्डुले यसअघि अनुबन्धको घोषणा नगरिएका रिपोन मोन्डल र जहानदाद खानलाई मैदान उतारेको छ । उता, जनकपुरले भने पहिलो खेलमा खेलेका जिम्मी निशमलाई बेन्चमा राखेको छ ।