
धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ भानचौरमा बुधबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनाग्रस्त जिपमा करिब १२ देखि १५ जनासम्म सवार रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली उद्धार तथा आवश्यक व्यवस्थापनका लागि घटनास्थलतर्फ परिचालन गरिएको कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार अस्थायी प्रहरी पोस्ट बिजगडाबाट प्रहरी सहायक निरीक्षक मीन चन्दको कमाण्डमा दुई जना, अस्थायी प्रहरी पोस्ट बागथलाबाट प्रहरी सहायक निरीक्षक केशवसिंह भण्डारीको कमाण्डमा दुई जना र जिल्ला प्रहरी कार्यालयबाट आफ्नै कमाण्डमा सात जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
दुर्घटनाको कारण, मृतकको पहिचान तथा घाइतेको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।