२०८३ कार्तिक १९, बुधबार

स्पेनका यातायातमन्त्रीको राजीनामा

दुई ठूला रेल दुर्घटनापछि स्पेनका यातायातमन्त्रीले दिए राजीनामा

दुई ठूला रेल दुर्घटनापछि स्पेनका यातायातमन्त्रीले दिए राजीनामा
दुई ठूला रेल दुर्घटनापछि स्पेनका यातायातमन्त्रीले दिए राजीनामा

काठमाडौं । एक वर्षभन्दा कम अवधिमा दुई ठूला रेल दुर्घटना भएपछि स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
पछिल्लो रेल दुर्घटनामा ६९ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी व्यक्ति घाइते भएपछि उनले नैतिक जिम्मेवारी लिँदै पद छाड्ने निर्णय गरेका हुन्।
दुर्घटना भएको छ दिनपछि राजीनामाको घोषणा गर्दै पुएन्तेले स्पेनजस्तो देशको यातायातमन्त्रीका रूपमा यति गम्भीर दुर्घटनापछि पदमा रहिरहनु उचित नहुने बताएका छन्।
म्याड्रिडमा सांसदहरूलाई सम्बोधन गर्दै उनले एक वर्षभन्दा कम अवधिमा दुईवटा गम्भीर रेल दुर्घटना हुनु दुःखद भएको उल्लेख गरे। दुर्घटनाको कारण र आफ्नो प्रत्यक्ष जिम्मेवारी जे भए पनि नैतिक जिम्मेवारी लिएर पद छाड्नुपर्ने उनको भनाइ थियो।
अधिकारीहरूका अनुसार पछिल्लो दुर्घटना म्याड्रिड र दक्षिणी क्षेत्र अन्डालुसियालाई जोड्ने उच्च गतिको रेलमार्गमा भएको थियो। प्रारम्भिक विवरणअनुसार मानवीय त्रुटि र कम्प्युटर प्रणालीमा देखिएको गडबडी दुर्घटनाको सम्भावित कारणका रूपमा देखिएका छन्।
स्पेनको राष्ट्रिय रेल सेवाले सञ्चालन गरेको एउटा रेलले रोकिराखिएको अर्को रेललाई उच्च गतिमा ठक्कर दिएको थियो। सुरक्षा प्रणालीमा समस्या देखिएपछि उक्त रेलमार्गमा सेवा रोकिएको अवस्थामा दुर्घटना भएको बताइएको छ।
यसअघि गत जनवरीमा अन्डालुसिया क्षेत्रको अदामुज सहरमा दुईवटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ४१ जनाको मृत्यु भएको थियो। छोटो अवधिमा भएका दुई ठूला दुर्घटनाले स्पेनको रेल सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ।
पछिल्लो दुर्घटनापछि विभिन्न राजनीतिक दलका नेता तथा यातायात मजदुर युनियनले मन्त्री पुएन्तेलाई राजीनामा दिन दबाब दिएका थिए। दुर्घटनापछि यातायात मन्त्रालयबाहिर प्रदर्शनसमेत भएको थियो। केही प्रदर्शनकारीले प्रधानमन्त्री पेद्रो सान्चेजको राजीनामासमेत माग गरेका थिए।
स्पेनमा आमनिर्वाचन हुन तीन साता मात्रै बाँकी रहेका बेला पुएन्तेले राजीनामाको घोषणा गरेका हुन्। उनले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने पनि बताएका छन्।
प्रधानमन्त्री पेद्रो सान्चेजले सामाजिक सञ्जालमार्फत पुएन्तेको निर्णयको प्रशंसा गरेका छन्। पीडितप्रतिको सम्मान र आफ्नो राजनीतिक प्रतिबद्धताका कारण उनले पद छाड्ने निर्णय गरेको सान्चेजको भनाइ छ।

यो पनि

ताजा अपडेट

३ घण्टा अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस