२०८३ कार्तिक १९, बुधबार

दानबहादुर कार्की आईजीपीबाट हटाइए

कार्यकाल १७ महिना बाँकी छँदै आईजीपीबाट हटाइए दानबहादुर कार्की

कार्यकाल १७ महिना बाँकी छँदै आईजीपीबाट हटाइए दानबहादुर कार्की
कार्यकाल १७ महिना बाँकी छँदै आईजीपीबाट हटाइए दानबहादुर कार्की

काठमाडौँ । नेपाल प्रहरीका ३३औँ प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको हो।
कार्कीको स्थानमा डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको छ।
२०८२ कात्तिक २४ गते आईजीपी नियुक्त भएका कार्कीले करिब एक वर्ष मात्रै नेपाल प्रहरीको नेतृत्व गर्ने अवसर पाए। उनको कार्यकाल सकिन अझै करिब १७ महिना बाँकी थियो। सरकारले जिम्मेवारी परिवर्तन नगरेको भए उनी ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जाने थिए।
गत वर्ष आईजीपी नियुक्तिका क्रममा कार्कीसँगै उनका ब्याचमेट डा. मनोजकुमार केसी पनि प्रतिस्पर्धामा थिए। त्यतिबेला सरकारले कार्कीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको थियो। अहिले भने उनै केसी कार्कीको स्थानमा आईजीपी नियुक्त भएका छन्।
कार्की २०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका थिए। झन्डै तीन दशक लामो प्रहरी सेवापछि उनी संगठनको सर्वोच्च नेतृत्वमा पुगेका थिए।
जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। चुनौतीपूर्ण परिस्थितिका बीच उनी २०८२ भदौ २४ गते प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागबाट उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए।
यसअघि २०८० सालमा चर्चामा आएको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका बेला कार्की जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख थिए। उक्त प्रकरणको अनुसन्धान डा. मनोजकुमार केसीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा सुरु गरेका थिए। कार्कीले पनि अनुसन्धानमा सहयोग गरेका थिए।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र अभियोजनले त्यसबेला नेपाली राजनीतिमा ठूलो तरङ्ग ल्याएको थियो। अहिले प्रहरी संगठनको नेतृत्वमा फेरि कार्की र केसीबीच जिम्मेवारी परिवर्तन भएको छ।

यो पनि

ताजा अपडेट

६ घण्टा अघि

(Untitled)

यो साताको प्रचलित

खोजी गर्नुहोस