२०८३ मंसिर ९, मंगलबार

इरानका सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : गलिबाफ

इरानका सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : गलिबाफ

इरानका सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : गलिबाफ
इरानका सात सर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : गलिबाफ

८ मंसिर, काठमाडौं । अमेरिकासँग वार्ताको नेतृत्व गरिरहेका इरानी संसद्का सभामुख मोहम्मद बाघेर गलिबाफले वार्ताका लागि इरानको अडानमा कुनै परिवर्तन नभएको बताएका छन् । उनले अमेरिकासँग सम्झौता गरेर युद्ध अन्त्य गर्न इरानका पुरानै सात सर्त पूरा हुनुपर्ने स्पष्ट पारेका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) निकट समाचार संस्था फार्सका अनुसार गलिबाफले इरानका सात सर्त पूरा नभएसम्म कुनै कदम नचाल्ने र वार्ता पनि नगर्ने बताएका हुन् ।

अमेरिकाले दिइरहेका धम्की र अपमानजनक अभिव्यक्तिलाई आफ्नो निराशाको संकेत भन्दै गलिबाफले इरानको अडान स्पष्ट रहेको बताएका छन् ।

‘हाम्रो अडान पहिले नै स्पष्ट छ । इरानका सात सर्त पूरा नभएसम्म न कुनै कदम चालिनेछ, न वार्ता हुनेछ,’ उनले भनेका छन् ।

गलिबाफले अमेरिका र इजरायलबाट हुने कुनै पनि शत्रुतापूर्ण गतिविधिको निर्णायक जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन् । अमेरिका र इजरायलले गलत आकलन गरे युद्धको भौगोलिक दायरा विस्तार हुन सक्ने उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका पछिल्ला टिप्पणी तथा धम्कीको जवाफमा आफूले यस्तो अभिव्यक्ति दिएको गलिबाफले बताएका छन् ।

यसअघि बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत इरानको अवैध वित्तीय सञ्जाल ध्वस्त पार्ने अभियान जारी रहने बताएका थिए ।

यसैबीच, अमेरिकी अर्थ मन्त्रालयले सोमबार इरानका दुई दर्जनभन्दा बढी मुद्रा विनिमय केन्द्र, नक्कली कम्पनी तथा प्रमुख व्यक्तिहरूमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । इरानको विश्वव्यापी छाया बैंकिङ सञ्जाललाई कमजोर बनाउने उद्देश्यले प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ ।

इरानले अमेरिकासँगको वार्ताका लागि अघि सारेका सात सर्तमध्ये इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, प्रतिबन्धमा राहत दिनुपर्ने, रोक्का गरिएका इरानी रकम फुकुवा गर्नुपर्ने, सबै मोर्चामा युद्धविराम हुनुपर्ने र युद्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्नुपर्नेलगायत माग रहेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस