१७ भदौ काठमाडौँ / नेकपा (एमाले) का नेता ऐन महरविरूद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार महरविरूद्ध साइबर अपराधअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
अब प्रतिवादी महर अदालतमा हाजिर भएपछि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा हाजिर जमानीमा राख्ने भन्नेबारे थुनछेक हुनेछ । महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर गरेको आरोप छ । एक जना महिलालाई उनले सामाजिक सञ्जालमा लाइभ आएर चरित्रहत्या गरेको आरोप छ ।
महरले ती महिलालाई मेसेज तथा स्टाटसमा समेत गालीगलौज गरेको पीडितको भनाइ छ । महर भदौ ११ गते प्रहरी समक्ष हाजिर भएका थिए । उनले सरकारी वकिलको कार्यालय काठमाडौंमा त्यही दिन बयान दिएका थिए ।
बयान दिएसँगै उनी हाजिर जमानीमा छुटेका थिए । महरले ती महिलाविरूद्ध पनि सोही कसुरमा जाहेरी दिएका छन् । भदौ ११ गते नै ती महिलाको पनि बयान लिएर हाजिर जमानीमा राखिएको थियो ।