१६ असार ,बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ चुरियामाई मन्दिरको जंगलमा दुई ट्रक आपसमा ठोकिएका छन् । एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक आइतबार साँझ आपसमा ठोकिँदा दुर्घटना भएको हो । दुई ट्रक ठोकिँदा च्यापिएका एक चालकको ३ घण्टापछि उद्धार गरिएको छ । स्टेरिङमा च्यापिका उनलाई ट्रकको झ्याल काटेर निकालिएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा चितवनको भरतपुर उपमहानगरपालिका–१६ बस्ने अन्दाजी ३५ वर्षीय ट्रक चालक अरुण श्रेष्ठ घाइत भएका हुन् । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक अनिल कार्कीको कमाण्डमा खटिएको सुरक्षा फौजले उनको उद्धार गरेको हो । हेटौँडाबाट पथलैयाँतर्फ जाँदै गरेको ना ७ ख ७३०१ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३७६३ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुवै ट्रक सडकको वायाँतर्फको साईडमा पल्टिएर दुर्घटना भएका थिए ।
उद्धार पश्चात उनलाई उपचारको लागि जिल्ला अस्पताल हेटौँडातर्फ पठाइएको छ भने अर्का ट्रकका चालक सकुशल छन् । दुवै ट्रकमा चालकबाहेक अन्य यात्रु सवार नरहेका सशस्त्र प्रहरीले जनाएको छ ।