१६ असार काठमाडौँ / पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आज सोमबार बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गतको कालीकोटको गगनेखोलादेखि हुम्म सडकखण्ड अवरुद्ध भएको हो । आइतबार बेलुकीदेखिको वर्षाले गगने खोलादेखि हुल्मसम्म धेरै ठाउँमा पहिरो गएका कारणले राजमार्ग अवरुद्ध भएको हो । रातिदेखि अत्यधिक वर्षा भएकाले गगने खोलामा पहिरो खसेर अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले बताए ।
“गाडी चल्न सक्ने अवस्था छैन, कर्णाली करिडोर सुरु हुने खुलालु जिरो प्वान्टमा खसेका ढुङ्गा पन्छाएर जेसिभी गगने खोलाको पहिरो हटाउन पठाइएको छ”, उनले भने । पहिरो बगिरहेकाले काम गर्न पनि कठिन भएको प्रहरी रावतले जानकारी दिए । “सडक डिभिजन जुम्लाले मेसिन पनि पठाएको छ,” उनले भने, “सानोतिनो पहिरो पन्छाउँदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सञ्चालन हुन्छ ।”