
१० कात्तिक, काठमाडौं / सुत्केरीको मृत्युपछि ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालको गेट तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनका क्रममा आक्रोशित भिडले अस्पतालमा ढुंगामुढासमेत गरेको छ । सम्भावित घटनालाई मध्यनजर राखेर अस्पताल परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
प्रदर्शनमा उत्रिएका मृतकका आफन्तले किष्ट अस्पताल बन्द गर, दोषीलाई कारबाही गर, मिनाश्री राईलाई न्याय दे लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
प्रदर्शन उग्र बनेपछि प्रहरीले भिडलाई तितरवितर बनाउन केही राउन्ड आश्रुग्यास प्रहार र लाठीचार्ज गरेको हो । सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।