१२ भदौ काठमाडौँ / सरोज पौडेल निर्देशित फिल्म ‘कोशेढुंगा’ आजबाट प्रदर्शनमा आएको छ । यो फिल्म नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज भएको हो ।
भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमीको अवसरमा रिलिज भएको यस फिल्मले देशभरिका हलबाट १०३ शो पाएको छ । यस फिल्ममा सुरक्षा पन्त, नीति शाह, आर्यन सिग्देल, मञ्जिल कुमार मुख्य भूमिकामा छन् ।
पौडेल ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’का निर्देशक हुन् । यस फिल्ममा निर्देशक पौडेलकै कथा रहेको छ । नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । फिल्मको कार्यकारी निर्माता भने दिनेश खड्का हुन् ।
यस फिल्ममा सुरक्षा, नीति, आर्यन र मञ्जिलसहित ऋचा शर्मा, प्रवीण खतिवडा, हिउवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय लगायतको अभिनय छ ।
फिल्मको कथा देशको वर्तमान परिस्थिति, बेरोजगारीको समस्याले पिल्सिएको एउटा मध्यमवर्गको घरपरिवार कथामा आधारित रहेको निर्देशक पौडेलले बताए । बेरोजगारीको कारणले जनताले कुन हदसम्म दुःख पाइरहेका छन्? उनीहरूको सपना कसरी टुटिरहेको छन भन्ने विषयलाई सिस्टमसँग जोड्न खोजेको उनको भनाइ छ ।