
मंसिर २८, काठमाडौं / नेपाल जेन–जी फ्रन्टले देशभर ‘जागरण सभा’ सञ्चालन गर्ने घोषणा गरेको छ । उक्त अभियानअन्तर्गत पहिलो जागरण सभा झापा क्षेत्रनम्बर ५ बाट सुरु हुनेछ । झापाको दमकबाट आजै देखि अभियान सुरु हुनेछ ।
सरकार र जेन–जीबीच भएको औपचारिक सम्झौतापछि नेपाल जेन–जी फ्रन्टले अभियान घोषणा गरेको हो ।
राष्ट्रियस्तरमा जेनजी आन्दोलनको नेतृत्वमा रहेर सक्रिय भूमिका निर्वाह गरेका युवाहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । नेपाल जेनजी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णका अनुसार नेपाल जेनजी फ्रन्टकातर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा र काउन्सिल अफ जेनजीका प्रदेश नं. १ संयोजक उपार्जुन चाम्लिङ रहनेछन् । ओझा झापा क्षेत्र नं. ५ कै स्थायी बासिन्दा र मतदाता समेत हुन् ।
कर्णका अनुसार यस जागरण सभाको उद्देश्य जेनजी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकबीच संवाद गर्ने र सम्झौतापछिको कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको छ ।