३० असार काठमाडौँ / बुटवलमा स्कुटर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर ४ घर भई हाल बुटवल १० कालिकानगरमा दिदीको घरमा बस्दै आएका ५७ वर्षीय पूर्ण श्रेष्ठको स्कुटर दुर्घटनामा परेर मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक विष्णुबहादुर बस्नेतका अनुसार मिर्गौलाका बिरामी श्रेष्ठ डायलासिस गराउन अस्पताल जाने क्रममा सोमबार बिहानै साढे ५ बजेतिर दुर्घटनामा परेका थिए ।
लु १९ प २६९७ नम्बरको स्कुटरमा अस्पताल जाँदै गरेका श्रेष्ठ बुटवल १० कालिकानगरस्थित सर्भिस लेनमा रोकिराखेको ना. २ ह ७५३ नम्बरको अटो रिक्सासँग ठक्कर खाएर दुर्घटनामा परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । दुर्घटना भएको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
शव पोस्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा स्कुटर र मृतक श्रेष्ठ पल्टिएको अवस्थामा फेला पारेपछि नजिकैका सिसिटिभी फुटेज हेर्दा अटो रिक्सासँग ठक्कर खाएर स्कुटर पल्टिएको भेटिएको थियो ।
त्यसपछि खोजी गर्दै जाँदा बुटवल उपमहानगरपालिका वडा नम्बर २ मैना बगरमा लुकाएको अवस्थामा अटो रिक्सा फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए । अटोरिक्साको चालक भने फरार छन् ।