२२ असार काठमाडौँ / मोरङमा दुई राउण्ड हवाई फायर गरी प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । रंगेलीमा लागुऔषध किनेबेच गर्न आएकी भारतीय महिला र दुई जना नेपालीलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको स्रोतले बतायो ।
ब्युरो प्रवक्ता एसपी जनकबहादुर शाहीले घटनाबारे पुष्टि गरे पनि थप विवरण बताएनन् । पक्राउ पर्नेमा रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशिल बुढाथोकी र ४५ वर्षीया भारतीय नागरिक हसिना खातुन हुन् । खातुनबाट प्रहरीले ४२५ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनी उक्त खैरो हेरोइन बेच्न नेपाल आएका थिए ।
ठाकुर र बुढाथोकी किन्न हिँडेका थिए । लागुऔषध नियन्त्रण ब्युरोबाट प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको नेतृत्वमा केही दिनदेखि रंगेली क्षेत्रमा अनुसन्धान गरिरहेको थियो । उक्त टोलीले लामो समयदेखि खैरो हेरोइन आउने सूचनाको आधारमा पक्राउ गर्ने तयारी गरिरहेको स्रोतले बतायो ।
ब्युरोका एक प्रहरी अधिकारीका अनुसार खातुनको परिवार नै तस्करीमा संलग्न छन् ।