१ असार काठमाडौँ / सिन्धुपाल्चोक जिल्लाका ७ स्थानीय तहले बालबालिकालाई लक्षित गर्दै पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका छन् ।
जिल्लाका तीन नगरपालिका र नौ गाउँपालिकामध्ये मेलम्ची र बाह्रबिसे नगरपालिकासहित जुगल, त्रिपुरासुन्दरी र गाउँपालिकाले बिहीबार ‘खोज र खोप’ अभियान सफल भएको जनाएका हुन् ।
मेलम्ची नगरपालिकाले तीन महिना लामो ‘खोज र खोप’ अभियान सञ्चालन गरी १६ देखि ५९ महिनासम्मका १ हजार ७४७ बालबालिकालाई छुटेका सबै खोप प्रदान गरेको जनाएको छ ।
नगर प्रमुख आइतमान तामाङका अनुसार ’स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहितको अभियान सफल भएपछि नगरलाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
सम्बद्ध उमेर समूहका बालबालिकालाई आवश्यक सबै खोप लगाइएको छ । यो ऐतिहासिक उपलब्धि हो,’ तामाङले भने । कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष, स्वास्थ्यकर्मी, कर्मचारीलगायत सरोकारवालाहरूले खोप सुनिश्चितताको निरन्तरतामा सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।