१७ असार मकवानपुर / मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित चार्जिङ प्वाइन्टनजिकै मंगलबार (असार १७) बिहान कोइला बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक घाइते छन् ।
भारतको बनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका निम्ति कोइला लिएर आउँदै गरेको यूपी६१एटी ०९६२ नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा ट्रकका चालक भारतको पुरैनियाँका ४५ वर्षीय महेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
ट्रक बाटोको दाहिने किनारमा पल्टिएको थियो । ट्रकभित्र च्यापिएर अचेत भएको अवस्थामा चालक यादवलाई प्रहरीले उद्धार गरी उपचारका निम्ति हेटौँडा अस्पतालमा पठाइएको थियो । तत्कालै चिकित्सकले मृत घोषणाा गरेको प्रवक्ता अर्यालले बताए । दुर्घटनामा परी घाइते भएका सहचालक भारतको सोही स्थानका २६ वर्षीय मनोज यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।