७ साउन, रौतहट/ धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोडने क्रममा करेन्ट लागेर रौतहटमा दुई किसानको मृत्यु भएको छ । रौतहटको छुट्टाछुट्टै स्थानमा खेतमा सिँचाइ गर्ने क्रममा दुई जना किसानको ज्यान गएको हो । कटहरीया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय मोक्तार देवान र माधवनारायण नगरपालिका वडा नं. ४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो ।
धान खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा गए राति मोक्तार देवानलाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागि गरुडामा रहेको ग्रान्डी अस्पतालमा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले बताए ।
यसैगरी आज बिहान ७ बजेको समयमा आफ्नो खेतमा सिँचाइ गर्ने क्रममा रामबाबु मुखियालाई करेन्ट लागेको थियो । उनलाई उपचारका लागी प्रादेशिक अस्पताल गौर ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक दुवै जनाको शव प्रादेशकि अस्पताल गौरमा रहेको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।