२०८२ अषाढ ३१, मंगलबार

घुस प्रकरणमा मुछिएका दुई मन्त्रीलाई बर्खास्त गर्न विवेकशील साझाको माग

विवेकशील साझा पार्टीले घुस लिएको आरोप लागेका दुई मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।
घुस प्रकरणमा मुछिएका दुई मन्त्रीलाई बर्खास्त गर्न विवेकशील साझाको माग

३० असार, काठमाडौं / विवेकशील साझा पार्टीले घुस लिएको आरोप लागेका दुई मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुस डिल गरेको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले नहटाएको भन्दै विवेकशील साझाले ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीका प्रवक्ता आशुतोष प्रधानले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै मन्त्रीलाई बर्खास्त गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । भ्रष्टाचार जस्तो जघन्य अपराधमा मुछिएका मन्त्रीहरू अझै पदमा रहनु आपत्तिजनक रहेको भन्दै विवेकशील साझाका प्रवक्ता प्रधानले यसले सरकारको निष्ठामाथि प्रश्न उठेको बताएका छन् ।

मन्त्री गुप्ता र अधिकारीले पदीय लाभको दुरुपयोग गरेको सार्वजनिक भइसक्दा पनि कारबाही नहुनु प्रधानमन्त्री ओलीको नेतृत्वमाथि औंला उठ्ने खतरा देखिएको विवेकशील साझाले भनेको छ ।

‘भ्रष्टाचारको दर्जनौं काण्डहरू अझैसम्म न्यायिक टुंगोमा नपुगेको वर्तमानमा बहालवाला मन्त्रीहरूकै संलग्नताले सुशासनको सवालमा मुलुक थप कमजोर अवस्थामा पुगेको पुष्टि भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । विवेकशील साझाले यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण गराएको छ । पार्टीले घुस प्रकरण सम्बन्धमा गहिरो छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन अख्तियारलाई आग्रह गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस