२०८३ मंसिर ३, बुधबार

नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । ३ हजार ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने भेलामा पालिका चुनावको तयारीबारे छलफल हुनेछ ।

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, पालिका चुनाव केन्द्रित छलफल हुने

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, पालिका चुनाव केन्द्रित छलफल
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि, पालिका चुनाव केन्द्रित छलफल हुने

२ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । भेलालाई आगामी स्थानीय तह (पालिका) निर्वाचनको तयारीमा केन्द्रित गर्ने एमालेले जनाएको छ ।

एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले राष्ट्रिय भेलालाई पालिका चुनाव केन्द्रित बनाउने निर्णय गरेको हो । बैठकमा भेला तयारी समितिका संयोजक भानुभक्त ढकालले व्यवस्थापकीय तयारी र दुईदिने कार्यक्रम तालिकाबारे जानकारी गराएका थिए ।

एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार राष्ट्रिय भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यस्तै, वरिष्ठ नेता विद्यादेवी भण्डारीले समसामयिक राष्ट्रिय राजनीति र पार्टीका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

भेलामा उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि अलग–अलग कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलामा पार्टीका संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिसहित विभिन्न तहका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार भेलामा गाउँपालिकादेखि केन्द्रीय कमिटी तहसम्मका ३ हजार ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

प्रतिनिधिहरूलाई आगामी पालिका निर्वाचनको तयारी र पार्टीले गर्नुपर्ने कामबारे लिखित सुझाव दिन आग्रह गरिएको छ ।

भेलाको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । आज बिहान ११ बजेपछि उद्घाटन कार्यक्रम हुनेछ । उद्घाटनलगत्तै बन्दसत्र सुरु गर्ने र भोलि भेला समापन गर्ने एमालेको तयारी छ ।

यसैबीच, एमालेले भोलि पार्टीको केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस