२०८३ मंसिर ४, बिहिबार

एमाले उपाध्यक्ष थापाले चुनाव जित्न पार्टीभित्र एकता र प्रतिद्वन्द्वीविरुद्ध सहकार्य आवश्यक रहेको बताए

आगामी निर्वाचन फासीवादी र लोकतान्त्रिक शक्तिबीचको भीषण संघर्ष हुनेछ : रामबहादुर थापा

आगामी निर्वाचन फासीवादी र लोकतान्त्रिक शक्तिबीचको संघर्ष हुनेछ : बादल
आगामी निर्वाचन फासीवादी र लोकतान्त्रिक शक्तिबीचको भीषण संघर्ष हुनेछ : रामबहादुर थापा

३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले आगामी निर्वाचन फासीवादी तथा पपुलिस्ट शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्ष हुने बताएका छन् ।

एमालेले काठमाडौंमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै थापाले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि संघर्षको विकल्प नरहेको बताए ।

‘विगतको निर्वाचन पपुलिस्ट तथा फासीवादी शक्तिहरू र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिहरूबीचको भीषण संघर्षका रूपमा रहेको थियो । आउने चुनाव पनि यिनै दुई पक्षबीचको शक्ति संघर्ष हुने निश्चित छ,’ उनले भने ।

गत निर्वाचनको परिणाम दोहोरिने वा त्यसमा क्रमभंग हुने भन्ने विषय अहिलेको मुख्य राजनीतिक प्रश्न भएको थापाको भनाइ थियो । आगामी निर्वाचन सामान्य नहुने उल्लेख गर्दै उनले चुनावमा विजय हासिल गर्न पार्टीभित्रको एकता सुदृढ गर्नुपर्नेमा जोड दिए ।

चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै थापाले ‘आफूलाई चिन, शत्रुलाई चिन, तिमी हजारौँ लडाइँ जित्न सक्छौ’ भन्ने रणनीति आत्मसात् गर्नुपर्ने बताए ।

गत निर्वाचनमा एमालेले आफ्ना कमजोरी पहिचान गर्न नसकेको, प्रमुख प्रतिद्वन्द्वी चिन्न नसकेको र प्रतिद्वन्द्वीविरुद्ध आपसी सहकार्य गर्न नसकेको उनले स्वीकार गरे ।

‘हामीले हाम्रो प्रमुख प्रतिद्वन्द्वीलाई चिन्न सकेनौँ । हामीले हाम्रा कमजोरी बुझ्न सकेनौँ । मुख्य प्रतिद्वन्द्वीविरुद्ध परस्पर सहकार्य गर्न सकेनौँ । आन्तरिक एकता कायम गर्न र जनतासँग प्रत्यक्ष सम्बन्ध गाँस्न सकेनौँ,’ थापाले भने ।

उनले पछिल्लो समय भूराजनीतिक शक्तिहरूबीचको संघर्ष तीव्र बन्दै गएको, लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य बढेको र सरकारप्रति जनताको आक्रोश चुलिँदै गएको दाबी गरे ।

‘पछिल्ला घटनाक्रमले संसदीय, सडक तथा कानुनी संघर्षमा विजयको संकेत दिइरहेका छन्,’ उनले भने ।

आगामी निर्वाचनमा सफलता हासिल गर्न जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने, प्रतिद्वन्द्वीविरुद्ध सहकार्य गर्ने र नेतृत्वको वरिपरि एकताबद्ध हुने रणनीति आवश्यक रहेको थापाले बताए ।

आगामी वर्ष निर्वाचन वर्ष भएकाले स्थानीय तह, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको तयारीमा जुट्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि गत फागुन २१ गते सम्पन्न निर्वाचनको पार्टीले गरेको समीक्षालाई आधार बनाएर उपयुक्त चुनावी रणनीति तय गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय भेलालाई पार्टीको नयाँ एकता र नयाँ संकल्पको अभिव्यक्तिका रूपमा व्याख्या गर्दै थापाले केन्द्रीय कमिटीले तय गरेका ‘दुई कार्यभार र १५ काम’ पूरा गर्न भेला आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार केन्द्रीय कमिटीको तेस्रो बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न पार्टी पुनर्निर्माण गर्ने, राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक आन्दोलनको तयारी गर्ने तथा आगामी निर्वाचनको पूर्वतयारी गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, संविधान रक्षाका लागि कानुनी संघर्ष गर्ने तथा जनतासँग प्रत्यक्ष संवादमार्फत सम्बन्ध विस्तार र सुदृढीकरण गर्ने निर्णयसमेत भएको उनले बताए ।

केन्द्रीय समितिले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेर निष्कर्ष निकालेको उल्लेख गर्दै थापाले त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस