२०८३ मंसिर ३, बुधबार

आईजीपी मनोज केसीमाथि ओलीको आक्रोश, देउवा र प्रचण्डको पनि नाम लिए

ओलीको दाबी : ‘आईजीपीले मलाई, देउवा र प्रचण्डलाई थुनिदिन्छु भनेछन्’

ओलीको दाबी : ‘आईजीपीले मलाई, देउवा र प्रचण्डलाई थुनिदिन्छु भनेछन्’
ओलीको दाबी : ‘आईजीपीले मलाई, देउवा र प्रचण्डलाई थुनिदिन्छु भनेछन्’

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले आफूसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुनिदिने चेतावनी दिएको दाबी गरेका छन् ।

बुधबार पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आईजीपीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले आईजीपीले यस्तो अभिव्यक्ति होसमा बोलेको हो कि बेहोसमा भन्दै प्रश्नसमेत गरे ।

‘आईजीपी हुनेबित्तिकै होसमा हो कि बेहोसमा बोलेको सुन्छु म । आईजीपीको बोली त्यस्तो हुन्छ ? म केपी ओलीलाई थुनिदिन्छु, शेरबहादुरलाई थुनिदिन्छु, प्रचण्डलाई थुनिदिन्छु । केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा भनेका मजाकका पात्र हुन् ? यिनका । थुनिदिन्छु अरे,’ ओलीले भने ।

उनले आफूहरू राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध लडेर आएको भन्दै प्रहरी प्रशासनले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाए ।

‘हामी राणा शासनका विरुद्ध लडेर आएका हौं, पञ्चायती शासनका विरुद्ध लडेर आएका हौं, निरंकुश राजतन्त्रका विरुद्ध लडेर आएका हौं । अनि ६ महिनेको जागिर खाने एउटा सिपाहीले भन्छ, फलानालाई थुनिदिन्छु । ठट्टा मजाक गरेको हो ?’ उनले प्रश्न गरे ।

आफूहरू आईजीपी जन्मनुअघि नै देशका लागि आन्दोलनमा ज्यानको बाजी थापेर हिँडेको भन्दै ओलीले आफूहरूलाई मजाकको पात्र नबनाउन चेतावनी दिए ।

उनले प्रमाण भेटिए आफूहरूलाई पक्राउ गरेर थुन्न चुनौतीसमेत दिए ।

‘थुने हुन्छ नि समातेर । जो आउँछ थुनिदिन्छु, क्या हो यो ? हामी मजाकका पात्र हौं ? ठट्टाजस्तो भएको छ यहाँ, थुनिदिन्छु । प्रमाण भेटे अरे, प्रमाण भेटे र उनी पनि थुनिन्छन् होला नि, अरू पनि थुनिन्छन् होला नि,’ ओलीले भने ।

गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति पनि ओलीले प्रश्न उठाएका छन् । गृहमन्त्रीले फाइल खुल्दै गरेको र सबै थुनिने बताएको भन्दै उनले कसलाई लक्षित गरेर यस्तो भनिएको हो भन्ने प्रश्न गरे ।

‘गृहमन्त्रीले फाइल खोल्दै छु, पर्खनुस्, सबै थुनिन्छ । एकसे एक थुनिन्छ । कसलाई भनेको हो ?’ ओलीले प्रश्न गरे ।

उनले थपे, ‘सबै थुनिन्छन् भने उनी र को को बाँच्छन् त नेपालमा ? यस्तो गैरजिम्मेवार ढंगका अभिव्यक्ति दिएर आतंकको राज, अन्त लगाऊ त्यस्ता आतंक ।’

ओलीले प्रहरी प्रशासन र सरकारका जिम्मेवार व्यक्तिहरूले सार्वजनिक रूपमा संयमित र जिम्मेवार अभिव्यक्ति दिनुपर्ने आशय व्यक्त गरेका छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस