२०८३ मंसिर ३, बुधबार

नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिने नवजात शिशुको मृत्यु भएपछि परिवारले चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र सीसीटीभी फुटेजको माग गरेको छ ।

नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै प्रदर्शन

वीरगञ्जमा १८ दिने शिशुको मृत्यु, नेशनल मेडिकल कलेजमा प्रदर्शन
नेशनल मेडिकल कलेजमा १८ दिने शिशुको मृत्यु, चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै प्रदर्शन

२ मंसिर, जनकपुरधाम । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा १८ दिनको नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

बाराको कलैया उपमहानगरपालिका–२२ निवासी सन्दीप साहका १८ दिनका छोराको मंगलबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो । शिशुको मृत्यु भएपछि आफन्त र स्थानीयले अस्पतालका चिकित्सकमाथि उपचारमा लापरबाही गरेको आरोप लगाउँदै प्रदर्शन गरेका छन् ।

शिशुलाई जण्डिस भएपछि गत शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शिशुको मृत्यु भएपछि परिवारले घटनाको वास्तविक कारण सार्वजनिक गर्न माग गर्दै अस्पतालसँग सीसीटीभी फुटेज उपलब्ध गराउन माग गरेका छन् । उनीहरूको प्रदर्शन बुधबार पनि जारी छ ।

मृतक शिशुका हजुरबुबा पर्ने नरेश साहले स्वास्थ्यमा सुधार आएको र डिस्चार्ज गर्ने भनिएको अवस्थामा स्टाफ नर्सले सुई लगाएपछि पाँच मिनेटमै शिशुको मृत्यु भएको दाबी गरेका छन् ।

‘उपचारमा लापरबाहीकै कारण बच्चाको मृत्यु भएको छ । अस्पतालले सीसीटीभी फुटेज उपलब्ध गराओस् । घटनाको निष्पक्ष छानबिन होस्,’ उनले भने ।

त्यस्तै, शिशुकी आमा नमिता साहले पनि चिकित्सकको लापरबाहीका कारण आफूले सन्तान गुमाउनुपरेको आरोप लगाएकी छन् ।

चार वर्षसम्म सन्तानको प्रतीक्षा गरेपछि पहिलो सन्तानका रूपमा जन्मिएको शिशुको मृत्यु भएपछि नमिता शोकमा डुबेकी छन् । उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छन् ।

घटनापछि मृतक परिवारले अहिलेसम्म शिशुको शव बुझेका छैनन् । परिवारले उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको भूमिकाबारे छानबिन र घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरिरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस