
२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारका गतिविधिका कारण आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका हुन् ।
उनले सरकारले प्रतिशोध साँध्न सक्ने, पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्न सक्ने र उनीहरूमाथि आक्रमण हुन सक्ने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरे ।
‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनै पनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने ।
उनले वर्तमान सरकार संविधान, कानुन र स्थापित मर्यादाअनुसार सञ्चालन भइरहेको आफूलाई नलागेको टिप्पणीसमेत गरे ।
ओलीले आफूलाई गिरफ्तार गरिए एमाले चुप लागेर नबस्ने चेतावनी दिए । उनले यसअघि आफू गिरफ्तार हुँदा केही हजारको संख्यामा कार्यकर्ता सडकमा आएको उल्लेख गर्दै अब लाखौंको संख्यामा सडकमा उत्रने दाबी गरे ।
‘एमाले चुप लागेर बस्नेछैनौं । संख्या केही हजारका दरले त्यसबेला निस्कियो होला । अब लाखका हिसाबले निस्कन्छ,’ उनले भने ।
सम्बोधनका क्रममा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले आफू, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई थुनिदिने अभिव्यक्ति दिएको दाबीसमेत दोहोर्याए ।
ओलीले यसअघि पनि प्रहरी नेतृत्व र सरकारका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै आफूहरूलाई प्रमाण भए पक्राउ गरेर थुन्न चुनौती दिएका थिए ।
एमालेले राष्ट्रिय कार्यकर्ता भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित गरेको जनाएको छ ।