२०८३ मंसिर ३, बुधबार

सरकारको कामकारबाहीप्रति ओलीको असन्तुष्टि, जनतालाई अघि बढ्न आह्वान

ओलीको सरकारमाथि कटाक्ष : ‘देश उल्टो बाटोतिर धकेलिँदै छ’

बालेन सरकार जनताप्रति उत्तरदायी भएन : केपी ओली
ओलीको सरकारमाथि कटाक्ष : ‘देश उल्टो बाटोतिर धकेलिँदै छ’

२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति कटाक्ष गर्दै देश उल्टो बाटोतिर धकेलिँदै गएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित पार्टीको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह नेतृत्वको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाए ।

उनले समाज, संस्कृति र सभ्यतामाथि चर्को हमला भइरहेको भन्दै वर्तमान अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे ।

‘जनताप्रति अनुत्तरदायी सरकार, खर्बौं पैसा जम्मा भएको छ, त्यो पैसा थन्किएर बसेको छ । पीडितहरू दुःखमा पिल्सिरहेका छन्,’ ओलीले भने, ‘सरकारले काम गर्दा सकिन्थ्यो तर केही पनि भएको छैन । शिक्षा बिग्रँदो छ, स्वास्थ्यस्थितिमा सुधार भएको छैन । अस्पतालबाट बाहिर निकालेर सडकमा प्रसव वेदनामा शिशुलाई जन्म दिनुपरेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले संसद् विघटनसम्बन्धी मुद्दामा अदालतसमेत चुपचाप बसेको भन्दै असन्तुष्टि जनाए ।

राज्यका अंग तथा निकायहरू आफ्नो काम र कर्तव्य पूरा गर्न सक्ने अवस्थामा नरहेको उनको आरोप थियो ।

‘राज्यका अंगहरू, निकायहरू आफ्नो काम गर्न र कर्तव्य पालना गर्न सक्ने अवस्थामा छैनन् । कारण मैले भनिरहनुपर्दैन, सबैलाई थाहा छ,’ उनले भने ।

देशको अस्मिता, स्वाधीनता, स्वाभिमान र सम्मानको रक्षा गर्न जनता अघि बढ्नुपर्ने अवस्था आएको पनि ओलीले बताए ।

उनले जनतालाई झुक्काएर र जेनजी विद्रोहलाई बहाना बनाएर तालिमप्राप्त अपराधी परिचालन गरी वितण्डा मच्चाइएको दाबी गरे ।

ओलीले प्रधानमन्त्री संसद्मा उपस्थित नहुने गरेको भन्दै सरकारको संसदीय भूमिकामाथि पनि प्रश्न उठाए ।

नेपालजस्तो सानो देशले ठूलो देशको सीमा मिचेको भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाइएको भन्दै उनले सभामुखप्रति समेत असन्तुष्टि व्यक्त गरे ।

‘प्रधानमन्त्री संसद्मा नआउने, जतिबेला आउनुपर्ने अवस्था र कार्यक्रम थिएन, प्रधानमन्त्रीले हात उठाएर नेपालजस्तो सानो देशले ठूलो देशको सीमा मिचेको छ भनेर दिएको अभिव्यक्तिसमेत नहटाउने, संसद्को रेकर्डबाट हटाइएन,’ ओलीले भने ।

उनले उक्त अभिव्यक्ति संसद्को रेकर्डमा किन राखिएको भन्दै सभामुखसँग प्रश्नसमेत गरेका थिए ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस