
२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना नोट नष्ट गरेको छ ।
केन्द्रीय बैंकले झुत्रा, मैला, च्यातिएका तथा चलनचल्तीमा पठाउन अयोग्य विभिन्न दरका नोट धुल्याएर ब्रिकेट बनाएको जनाएको छ । २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न वा सट्टाभर्ना लिन ल्याएका त्यस्ता नोट नष्ट गरिएको राष्ट्र बैंकले जनाएको हो ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तसम्म विभिन्न दरका गरी ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए । उक्त रकम २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ ।
नयाँ नोटको छपाइ तथा आपूर्ति बढाउँदै राष्ट्र बैंक
केन्द्रीय बैंकले बैंक नोटको सुरक्षण विशेषता तथा प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक गर्दै नोटलाई थप सुरक्षित र गुणस्तरीय बनाउँदै लगेको जनाएको छ ।
बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको छ ।
गत आर्थिक वर्षमा ५ रुपैयाँ दरका ३५ करोड थान बैंकनोट करार सम्झौताअनुसार आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएको छ ।
त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि सम्झौता भएकोमा पहिलो र दोस्रो लटअन्तर्गत २३ करोड थान नोट ढुकुटीमा सुरक्षित राखिएको छ ।
१०० रुपैयाँ दरका ३० करोड थान नोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअनुसार पहिलो र दोस्रो लटमा २१ करोड थान नोट आपूर्ति भइसकेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, ५०० रुपैयाँ दरका २३ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअनुसार पहिलो लटमा १२ करोड थान नोट आपूर्ति भई ढुकुटीमा राखिएको छ ।
राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि समेत करार सम्झौता गरेको छ ।
नयाँ नोटको मौज्दात ८८ अर्ब ९४ करोड रुपैयाँ
२०८३ असार मसान्तसम्म राष्ट्र बैंकसँग विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात रहेका छन् ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबर थियो ।
यसरी एक वर्षको अवधिमा राष्ट्र बैंकसँग रहेको नयाँ नोटको मौज्दात उल्लेख्य रूपमा बढेको छ ।